Logo

बुधवार, कार्तिक ५ गते २०७७

images
TRENDING
images

बायुङ राईहरुको प्रकृति पुजा-‘वाक्सा’

बायुङ राईहरुको प्रकृति पुजा-‘वाक्सा’

images

इच्छाकामना न्युज

१५, आश्विन २०७७
बायुङ राईहरुको प्रकृति पुजा-‘वाक्सा’

–हेमन्त बायुङ राई

१. परिचयः

नेपालको पूर्वी पहाडी जिल्लाहरु पुख्र्यौली इतिहास बोकेर युगौंदेखि बसोबास गर्दै आएका किराती राई समुदाय पितृ पुजक र प्रकृति पुजक हुन् । उनीहरु प्रकृति पुजाको चाड वर्षमा मुख्यतयः दुई पटक मनाउने गर्दछन् । प्रकृति पुजाको चाडहरु उभौली र उधौलीको अवसरमा मनाइन्छ । प्रकृतिमा जब वसन्त ऋतुको आगमन सँगै गर्मीयामको सुरुवात हुन्छ तब क¥याङ कुरुङ (ङारकुवा) चराहरु गर्मी छल्न आहुलबाट लेकतिर लाग्छन्, हो त्यस समयलाई अन्य किरात राई समुदायमा जस्तै किरात बायुङ/बाहिङ राई समुदायमा उभौली लागेको भनिन्छ भने जब जाडो मौसम सुरु हुन्छ तब क¥याङ कुरुङ चराहरु लेकबाट आहुलतिर झर्ने गर्दछन् त्यस समयलाई उधौली भनिन्छ ।

हिजो मानव इतिहासमा क्यालेन्डरको विकास र प्रचलन नभई सकेको युगमा मानिसहरु प्रकृतिमा समयअनुसार आएका विविध परिवर्तनहरुको गहिरो अध्ययन गरी मन्थन गरिएको ज्ञानका आधारमा समयक्रम पत्ता लगाउने गर्थे । यसरी नै किराती समुदायमा पनि आकाशमा ङारकुवा चराहरुको उड्ने दिशालाई अवलोकन गरी लेकतिर जाने र बेंसीतिर झर्ने बेलालाई नै मुख्य संकेत मानेर खेतिपाती लगाउने र उठाउने समय भएको मानिन्थ्यो । यसरी जब प्रकृतिमा उभौलीको संकेत हुन्थ्यो तब अन्नपातको बिउ तथा बेर्ना राख्नलाई गर्मियाममा तयारी सुरु गरिन्थ्यो भने उधौलीको संकेत हुँदै जाँदा बालीनाली तथा खेतबारीमा पाकेको अन्नपात भित्राउने कार्य हिउँदको समयमा गरिन्थ्यो । त्यसैले किरात राई समुदायमा उधौली–उभौली दुवैलाई खुसीको पर्वको रुपमा मनाइन्छ । विशेषगरी यस पर्वको अर्थ प्रकृति र पितृहरुलाई धन्यवादज्ञापन गर्नु र आपसमा खुसियाली बाँड्नु हो ।

प्रकृति पुजाको यो चाड विविध किरात भाषिक समुदायअनुसार फरक—फरक नामले चिनिन्छ । जसमध्ये सकेला, साकेन्वा, तोषी, वास आदि नामहरु प्रचलित छन् । यस उभौली उत्सवलाई दक्षिण सोलुखुम्बु नेचासल्यानका बायुङ राई समाजमा “वाक्सा” नामले पुकारिन्छ । किरात बायुङ समुदायको प्रकृति पुजाको मुख्य उत्सव “वाक्सा” हो । यो आदिकालदेखि नै बायुङ समुदायले मनाउँदै आएका छन् भने यो ‘लुःना सारी’ वंशको बायुङहरुले यसको उत्पत्तिकाल सुम्निदुः देखि नै मनाउँदै आएका छन् जुन कुरा अझै पनि मिथक भएर समुदाय माझ बाँचिरहेको छ । वाक्साको अवसरमा विभिन्न प्रकारका प्रकृति पुजामा उत्सवहरु मनाइन्छन् । जसमध्ये साआला वाक्सा, द्याल वाक्सा, लिङ्मो वाक्सा र खिम वाक्सा(भूमे पुजा) हुन् ।

२. वाक्साको उत्पत्ति र प्रचलनः

परापूर्वकालमा बायुङ राईहरुको आदि पुर्खा रेनदु र तङदिसेमा वालेप्मा(वालिङमा) को परिवार सुम्द्याल मा बसोबास गर्नु आउनु भएछ । त्यहाँ सर्वप्रथम उनिहरुले बसोबास गरे र आवाद गरी बसे । केही समय पश्चात् एकरात वालेप्मा (वालिङमा)ले सपनामा सुम्दयाल नजिकै धिरिधिन मलम्ब्व्अकु(ठुलो पोखरी)मा दुई वटा भालेपोथि सुभुलुङ÷सुबुलुङ देख्नु भएछ । भोलिपल्ट रेन्दु र वालेप्माले सपनाको देखिए बमोजिमको गएर खोज्दा सुबुलुङ उही ठाउँमा पाए पश्चात् अन्नबाली खेतिपातिमा सुब्बेफाब्बे (प्रगति) भएको हुनाले उभौली मौसममा उनको परिवार आफूसँग भएका कारण पछि उनीहरुले झःरझःसी(साँस्कृति पहिरन)मा सजिएर, गिजोयाजो(हातहतियार), हर्गे(झ्याम्टा) लिइ वाक्साखम(वाक्सा पुज्ने थान) बनाएर ‘सुबुलुङ’ स्थापना गरी ‘लिङ्खाम ङासी’ चढाई सिली नाच्ने र खुशियाली मनाएर सुरुवात गरेका थिए । यसरी वाक्साको उत्पत्ति भएको मानिन्छ भने त्यही समयदेखि उनीहरुका दरसन्तानहरुले प्रत्येक उभौलीमा निरन्तरता दिदै आएको यो प्रकृति पुजाको उत्सव एक संस्कृतिक चाडको रुपमा विकास भएको मानिन्छ ।

३. साआला वाक्साः

वाक्सामा गरिने प्रकृति पुजाहरुमध्ये ‘साआला वाक्सा’ एक प्रमुख उत्सव हो । वाक्साका अन्य अनुष्ठानहरु अलि सानो सानो दोःचा तथा गाउँअनुसार समूहमा सुबुखम, भूमेथान बनाई मनाइन्छ । साआला वाक्सा भने रेन्दु र वालेप्मा(वालिङ्मा) सर्वप्रथम सुरुवात गरेका आदिम थलो ‘सुम्द्याल’ मा मनाइने गरिन्छ । यो उत्सव हेरक दुई सालको उभौलीमा मनाइने गरिन्छ । प्रत्येक दुइ वर्षको पहिलो एक वर्षलाई ‘हान्चो साल’ भनिन्छ अर्थात् यो साल चाहिँ विश्राम गरिन्छ र दोस्रो वर्षको उभौलीमा भने ‘वाक्सा’ मनाइन्छ । हरेक दुई सालमा दोःचा(पाछा) अनुसारको टोली टोलीले आयोजना गरेर मनाइन्छ । यो पुजा जेठ औंसीको तेस्रो दिन पर्दछ । जुन दोःचा अनुसारको टोलीले पुजा गर्ने हो उसैले पुजा सामाग्री खानपिनको सरसामान व्यवस्था गर्ने पैसा जुटाउने कार्य गरिने चलन रहेको छ । यसरी दोःचा अनुसारको टोलहरुमा सेचोचा दोःचा टोल नाम्लो सेरो, नाम्बेर्सा दोःचा टोल खालद्याल, नाम्बेर्सा दोःचा टोल भिनेम र रल्लेचा दोःचा टोल सेपुलुङ,फ्रेवा, सिताम्दु र साम्बुरु रहेको छ। यसरी बसाइएको समयतालिका अनुसार एक दोःचा टोलीले पुजिसकेपछि उसको पुनः साआला वाक्सा पुज्ने पालो सातौं वर्षपछि आठौं वर्षमा आउदछ ।

४. उत्सवको दिनः

साआला वाक्सा पुजाको दिन एक टोली पूजा स्थानमा पहिले नै पुगेर वाक्साखम (वाक्सा पुज्ने ठाउँ) तयार गर्ने गर्दछ । वाक्साखम तयार गर्दा सबै भन्दा पहिले त्यहाँ सरसफाइ गरिन्छ । त्यसपछि सेली (पात्ले कुटुस)को सेउलीले तुम्लो(मुन्दुम)अनुसार बाँधेर ‘मोसुमको भित्ता’ बनाइन्छ । त्यसको साथमा सुंगुर र भाले बाँध्ने जिब्जा े(घुरमिस)को किला गाडिन्छ भने भित्ताको पछाडि सुभुलुङ (भूमे ढुङ्गा)राख्ने खाल्डो बनाइन्छ । उक्त खाल्डोमा सुबुलुङ÷सुभुलुङ राखिन्छ । सोरोब्व्आ—मोलेब्व्आ(भाले)लाई खुट्टामा बाँबियोको डोरीले भने सुङ्गुरलाई पछाडिको दाहिने खुट्टामा बाँबियोको डोरीले जिब्जोसिङ (घुर्मिसको किला)मा बाँधिन्छ । त्यहाँ बनाइएको मोसुमको अगाडि नक्सो बस्ने ढुङगाको गद्दी राखिन्छ त्यसलाई ‘युङकु लुङ’ भनिन्छ । अहिले प्रयोग भइरहेको उक्त ‘युङकु लुङ’ रेन्दु र वालेप्माको समयको हो भनी भनिन्छ । ‘वायुङ’ शब्दको उत्पती यही ‘युङ्कु लुङ’ बाट भएको हो भन्ने भनाइ नेचासल्यान–५ खाल्द्यालका मुलुमी हर्कबहादुर बायुङ राईको रहेको छ । उहाँका अनुसार ‘बक्आ’ बस्ने र ‘युङ्कु लुङ’ (वाक्सा पुज्दाको आदिम ढुङ्गा ) यानिकी ‘प्रकृति पुज्दा युङ्कुलुङमा बस्ने’ भन्दा भन्दै ‘बायुङ’ भएको हो । पुजा सामाग्री खाम्तुम (काठको खोपेर बनाइएको भाँडो)मा चोखो लिङ्खाम सहितको जाँड भरेको, पस्किने केरा(ताङ्मा लेङ्मा)को डाँठ, लुम्पुका(पितृलाई चढाउने परिकार), ङारमू(कचुर)आदि थानमा तुम्लोअनुसार मिलाएर राखिन्छ ।

यता अर्को टोली भने बाँकी नक्सोलाई झःरझःसीमा पहिराएर जाती (भाला) हातमा समात्नु लगाएर, व्याम्बु(अर्नाको सिङ ) र जोर झ्याम्टा बजाउँदै वाक्साखममा आउँछन् । वाक्साखममा पुगिसकेपछि नक्सोले थान अघि एक हातमा भाला र अर्को हातमा चोखो लिङ्खाम ङासी भरिएको चिण्डो(पुपुम) बोकी उभिएर फ्रेलो(मुन्दुमी भाषा)मा प्रकृति र पितृपुर्खालाई धन्यवाद दिँदै आफूबाट केही पुजामा गल्ती भए माफी दिन अनुरोध गर्दै तुम्लो(मुन्दुम) गाउँदै सिली नाच्न सुरू गर्दछ र पितृलाई चोखो लिङ्खाम ङासी चढाई ‘युङकु लुङ’मा बसी तुम्लो(मुन्दुम) अघि बढाउदछ भने बाँकी मसिमी लोलिमी मसिहङमा लोलीहङमा(नृत्यकारहरू)निरन्तर नाच्दछन् । युङकु लुङमा बसेर नक्सोले मुन्धुम भाषामा फलाक्दै हरेक दोचाको नाममा खेतीपाती बालीनाली हुने नहुने सप्रिने नसप्रिने के हुन्छ भनी ‘ङारमु’ काट्ने गर्दछ । यसलाई बायुङ भाषामा ‘ङार्मु च्याम्चो’ भनिन्छ । ङार्मु च्याम्चो गर्दा ‘पार्सिआ’ र ‘मापार्सिआ’ भनी हेर्ने गरिन्छ । ‘पार्सिआ’ भयो भने शुभ हुन्छ र ‘मापार्सिआ’ भने अशुभ हुने मान्यता रहेको छ । यसरी प्रत्येक दोःचाहरुको व्यक्तिगत, सामाजिक, आर्थिक तथा साँस्कृतिक जीवनमा शुभ अशुभ के कस्तो हुन्छ भन्ने चिङ्खा (संकेत) हेरिसकेपछि नक्सोले पुनः तुम्लो फलाक्दै सिली नाच्दछ र हात भएको लिङखाम ङासी सहितको पुपुमले सुंगुर र भालेलाई पर्छाइन्छ र भोग दिइन्छ । त्यसपछि रिक्चो (मुन्दुम अनुसार उच्च स्थानमा पुगेका व्याक्तिहरुले सेवन गर्न छुट्याइएको प्रसाद स्वरुपको मासु) छुट्याइन्छ जसलाई ‘रिक्चो का’ भनिन्छ । छुट्याएको रिक्चोको भाग अलगअलग पकाई त्यसको केही सानो भाग फेरि पितृहरूलाई चढाइन्छ । यसलाई ‘चइसे’ भनिन्छ भने तुम्लो गाउदै आशिक मागिन्छ । ततपश्चात् त्यहा उपस्थित सबैलाई खाना खुवाएपछि पुजा सकिन्छ । पुजाको दिन र भोलि पल्ट ‘वाधा’ बार्ने चलन पनि छ ।

५. वाक्सा सिलीः

साआला वाक्सामा नाचिने सिलिलाई ‘वाक्सा सिली’ भनिन्छ । वाक्सा सिलीमा बायुङ राईहरुमा प्रचलित ‘खार्ते सिली’ नाचिन्छ । खार्ते सिली खेतिपाती सम्बन्धी मानव समुदायले गर्ने विभिन्न कार्यहरुको जीवन्त अभिनय गरि नाचिने सिली हो । यो सिली अन्तर्गत सबै भन्दा पहिले खेतीपाती गर्ने जग्गा हेर्ने, भस्मे फाँड्ने, जलाउने, कोदालो बनाउने, खन्ने, रोप्ने, टिप्ने, कुट्ने, निफन्ने, जाँड पकाउने अनि जाँड छान्नेको क्रियाकलापहरुको अभिनय गर्दै वाक्सा पुजामा गरिने क्रियाकलापहरुको अभिनयलाई जोडिन्छ । जसअन्तर्गत वाक्साखम तयार गर्ने र वाक्सा पुजाको अन्त्यसम्मको गतिविधिहरुको अभिनय गर्दै नाचिन्छ । सिली नाच्ने परुषहरुलाई मसिमी लोलिमी भनिन्छ भने महिलाहरुलाई मसिहङमा लोलीहङमा भनिन्छ ।

६.सुबुलुङ/सुभुलुङः

तुम्लोअनुसार तङ्दिसेमा वालेप्मा(वालिङ्मा)ले सपनामा देख्नु भएको आधारमा भेटिएको त्यो सुभुलुङ(सुबुलुङ) आज पनि नेचासल्यानवासी वायुङ समुदायले बचाइरहनु भएको छ । त्यो सुभुलुङ हरेक दुई वर्षमा वाक्साखममा ल्याएर स्थापना गरिन्छ । त्यो थानमा ल्याउनु अघि र राख्न लादा रक्सी राखेर सिवे (अनुमति माग्नु मानमनितो गर्नु) गरिन्छ । त्यो सुभुलुङ जो कोहीलाई हेर्न दिइँदैन । पुजाको दिन धोएर खाल्डोमा राखिन्छ फेरि धोएर राखिन्छ । त्यसैगरी “पहिले हरेक वाक्सा पुजाको दिन सुभुलुङ (सुबुलुङ) भेटिएको धिरिधिन(पोखरी)मा एकजोडी पानी हाँस देखिने गर्थे तर उक्त पोखरी खेतमा परिणत भएसँगै त्यो जोडी हाँस देखिन छोडेऊ” भन्ने स्थानीय कथन समेत रहेको छ भने त्यहाँकै स्थानीय एक सिकारी मान्छेले त्यो पानी हाँसको सिकार गरेको र त्यसपछि उसको ठूलो भौतिक क्षति अनि निसन्तान समेत भएको कुरा अझै बुढापाका सुनाउछन् । त्यस्तै अर्को गज्जबको कुरा त्यो पुजाको दिन उक्त सुबुलुङ(सुभुलुङ) लिन जाँदा पसिना आएको पाइने कुरा बताउँछन् स्थानीय समुदायाका मानिसहरु ।

७. बाधाः

वाधा भन्नाले यस वायुङ राई संस्कृतिमा सार्वजनिक विदाको दिन हो । जुन दिन सबैले सामान्य घरायसी काम बाहेक अरू काम विशेष गरि खनजोत माटो सम्बन्धी काम नगर्नु भनिन्छ । संभवत पितृ प्रकृति पुजाको दिन र भोलिपल्ट मान्छेहरू पुजाको लागि जुट्नुपर्ने र भोलिपल्ट खाने पिउने नाच्ने गर्नाले आराम गर्नुपर्ने हुँदा यसो गरिएको हुन सक्छ र अर्कोतिर केही बुढापाकाहरू भूमिलाई पनि तपाई विश्राम गर्नुस् भनि मानमनितो गरिएको बताउँछन् । यो वाधा विशेष चैत्र औंसी तेस्रो र चौथो ’सपु कःचो ’ पुजा, वैशाख औंसीको तेस्रो र चौथो दिन द्याल वाक्सा पुजा र जेठ औंसीको तेस्रो र चौथो दिन साआला वाक्सा र लिङमो वाक्सामा बार्ने गरिन्छ ।

यसरी वाक्साको सुरुवातकर्ता रेन्दु र वालेप्मा(वालिङ्मा) पछि उहाँको सन्तानहरुले यस उत्सवलाई गाउँ टोल सबै भेला हँुदै निरन्तर दिइरहे र पछि राणा शासनमा तालुकदारहरुको व्यवस्था भयो । नेचासल्यानभरिका बायुङ राई समुदायबाट ११ तालुकदार बनेपश्चात् प्रशासनिक, मुद्दा मामिला, धार्मिक साँस्कृतिक मामलाहरु सबैमा उनीहरु निर्णायक बने । फलस्वरुप नेचासल्यानभरिका वायुङ राईहरुले एकसाथ मनाइरहेको वाक्सा तालुकदारहरुको सल्लाह बमोजिम पालैपालो मनाउन सुरु गरियो । यसरी पालो सिस्टम गर्दा जम्मा एक तालुकदार र उसको टोलको पालो २४ वर्षमा मात्र आउथ्यो । तर त्यसपछि चाँडो पालो आउनु पर्छ भन्ने महसुस भई तालुकदारहरू बीचको आपसी सहमतिमा संयुक्त रूपमा आउनु सुरू भयो । यसरी साआला वाक्सा धेरै वर्षपछि मात्र आउने भएपछि आआफ्नो दोःचाले आआफ्नै टोलमा वाक्साखम बनाए त कसैले टोलको ठुलाबडाको घरमा वाक्सा पुजा गर्न सुरू गरे । त्यसैलाई अहिले द्याल वाक्सा भनिन्छ । द्याल वाक्सा हरेक सालको वैशाख औंसीको तेस्रो दिन मनाइन्छ । द्याल वाक्सा र साआला वाक्सा पुजा विधि भने उस्तै मर्म हो ।
यसरी अहिले साआला वाक्सा नेचासल्यानमा ११ टोलीबाट घट्दै अहिले ४ टोलीमा झरेको अवस्था छ । यसरी एकटोलीले एकचोटी साआला वाक्सा पुजा गरेपछि पुनः ८ वर्षमा पालो आउछ । तर पनि हरेक दुई सालमा सहभागी हुन भने बन्देज हुन्न ।

अब यस साआला वाक्सा पुजालाई लाई नेचासल्यान वासी वायुङ राई समुदायले हरेक साल संयुक्त रूपमा मनाउने, वाक्सामा प्रयोग हुने सदियौदेखि सुरक्षित जाती (भाला), ब्याम्बु (अर्नाको सिङ) सुबुलुङ लगायतका विभिन्न पौराणिक सामाग्रीहरूको संरक्षणका लागि सुरक्षित बन्द घर वा संग्रालय बनाइराख्ने, मुन्दुमी भाषालाई लिपिबद्ध गरि संरक्षण गर्ने नयाँ पिढीलाई संस्कृति जगेर्ना सहभागिताको लागि आकर्षण गर्ने कार्यहरू गर्न अत्यावश्यक देखिन्छ ।
नेचा सल्यान गाउँपालिका–५ खालदेल, सोलुखुम्बू ।

प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १३:२६:१२ बजे

इच्छाकामना न्युज

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology